जापानबाट सिक्ने पाठ: विपदसँग बाँच्न सिकाउने संस्कृति र नेपालका लागि मार्गदर्शन
सन् २०२६ को सुरुवातमै जापान सरकारको Sakura Science Program अन्तर्गत सात दिने अध्ययन–भ्रमणमा सहभागी हुने अवसर मिल्यो। कागावा विश्वविद्यालयका आदरणीय प्राध्यापकहरूको पहल र व्यवस्थापनमा सम्पन्न यो भ्रमणले विपद् व्यवस्थापनका बारेमा मेरो दृष्टिकोणलाई नयाँ अर्थ र गहिराइ दियो। म र मेरा तीन विद्यार्थीहरू जनवरी ३० को रात टोकियोमा अवतरण हुँदा, कागावाबाट विशेषरूपमा हामीलाई लिन आउनुभएको हासेगावा सेन्से (जापानी भाषामा गुरु वा प्राध्यापकलाई ‘सेन्से’ भनिन्छ) लाई देख्नु नै विदेशको अपरिचित भूमिमा सुरक्षित महसुस गराउने क्षण बनेको थियो।
टोकियो पुगेको भोलिपल्ट बिहानै हामीले भ्रमणको पहिलो पाटोका रूपमा ‘सोना एरिया’ अवलोकन गर्ने मौका पायौँ। नाम सुन्दा एउटा पर्यटन स्थलजस्तो लागे पनि यो वास्तवमा प्रकृतिजन्य विपद तथा विपद्-पूर्वतयारीबारे जनसाधारणलाई सिकाउन निर्माण गरिएको एउटा अत्याधुनिक शैक्षिक केन्द्र थियो। तीन–चार तलामा फैलिएको सिमुलेशन भवनमा मानिसहरूलाई भूकम्पका बेला कसरी सुरक्षित रहन सकिन्छ भन्ने व्यावहारिक अभ्यास गरिदोरहेछ। टोकियोको विभिन्न विद्यालयबाट आएका बालबालिका र किशोर–किशोरीहरू यहाँ आएर कार्ड–गेम खेल्दै, भूकम्प अनुभव कक्षभित्र अभ्यास गर्दै विपद्-सचेतनाबारे सिकिरहेको देख्दा अत्यन्त प्रेरणादायी अनुभूति भयो। यो केन्द्रको सूक्ष्म विवरणमा आधारित डिजाइन र सिकाइका विधिहरू नेपालमा पनि सहजै अपनाउन सकिने रहेछ भन्ने बोध भयो, र मनमा कहिले नबिर्सिने किसिमको प्रतिबद्धता जागेर हामी त्यही दिन अर्को गन्तव्यतर्फ लाग्यौँ।
उही दिन हामीले टोकियोबाट तकामात्सु शहर पुग्न शिन्कांसेन (बुलेट ट्रेन लाई जापानमा शिन्कांसेन भनिदो रहेछ) चढ्यौँ। जापानकै प्राविधिक उन्नतिको प्रतीक मानिने यी रेलहरू जसोतसो चढ्ने मात्र होइन, हेर्दैमा पनि सुरक्षित, सुगठित र समयपालनको प्रतीकजस्तै लाग्थे। तर सबैभन्दा रोचक कुरा के थियो भने, बुलेट ट्रेन मात्र होइन, जापानका स्थानीय रेल, बस र मेट्रो सबैमा नै विपद्–पूर्वतयारी स्पष्ट रूपमा देखिन्थ्यो। आपतकालीन बटनदेखि एग्जिट नक्सासम्म, चेतनामूलक दृश्य-सामग्रीदेखि सतर्कता निर्माण गर्ने सूचनासम्म, सबै कुरा अत्यन्त नै व्यवस्थित ढंगले राखिएको भेटिन्थ्यो।
जापानीहरूका दैनिक जीवनमा विपद्-सचेतना कति गहिरोसम्म बसेको छ भन्ने कुरा एउटा कुराले झनै पुष्टि गरिदियो। जति पनि साना वा ठूला शहर छन्, तीमध्ये अधिकांश शहरमा Disaster Map अनिवार्य रूपमा उपलब्ध हुन्छन्। बाढी वा सुनामीका जोखिम क्षेत्र, सुरक्षित स्थल, आपतकालीन सम्पर्क नम्बर र सम्भावित मार्गहरू सबै कुरा त्यही नक्सामा उल्लेख हुदोरहेछ। शहरका विभिन्न ठाउहरुमा बाढी को बेलामा कती उचाई सम्म पानी आउन सक्छ भन्ने चिन्हहरु लगाएर राखेको हुनेरहेछ। सामान्यतया हामिहरुकोमा पर्यटकहरूका लागि बनाइएका City Map हेर्ने बानी छ, तर विपद्-मैत्री नक्साको अभ्यास नेपालमा प्रायः छैन। यही कुरा सम्झँदा मनमा निरन्तर तुलना चलिरह्यो। काठमाडौंजस्ता घनाबस्ती रहेको सहरी क्षेत्रमा यस्ता नक्साको आवश्यकता कति अत्यावश्यक छ तर हामीले बेवास्ता गरिरहेका छौँ भन्ने तथ्य झनै स्पष्ट हुँदै गयो।
टोकियोबाट तकामात्सु शहर पुग्दा र विशेषगरी कागावा क्याम्पस भित्र प्रवेश गर्दा, जापानी समाजका सबैभन्दा मौलिक दुई मूल्य, विनम्रता र सम्मान, हामीलाई गहिरोसँग छुन पुग्यो। प्राध्यापकहरू र विद्यार्थीहरूले देखाएको सद्भाव, सरलता र आदरभाव कतिसम्म सच्चा र निष्कपट थियो भने, त्यहाँ बितेका क्षणहरूले मानवीय मूल्यहरूको अर्थ नै नयाँ रूपमा खुलाइदियो। जापानमा बस्ने बानी, बोल्ने शैली, कार्यशैली, सबै कुरामा सूक्ष्म विवरणप्रति अत्यन्तै ध्यान गरिएको पाइयो । चाहे सार्वजनिक स्थानको उपयोग होस्, साधन-स्रोतको व्यावहारिक प्रयोग होस् वा व्यक्तिगत जीवनशैली, सबै नविनता नै होइन, सादगी, योजना र न्यूनतम संसाधनको विवेकपूर्ण उपयोगमा आधारित रहेछ।
तकामात्सु क्याम्पसमा बसाइका दौरान हामीले निकै आधुनिक प्रविधिहरूका बारेमा प्रशिक्षण लियौँ। समुद्री भूकम्प निगरानीका लागि प्रयोग हुने DONET जस्ता प्रविधि, उन्नत भूकम्प-सेन्सर प्रणाली, भू-कम्प मापन तथा चेतावनी उपकरणका बारेमा विस्तृत प्राविधिक ज्ञान प्राप्त गर्यौँ। सामान्यतया ‘प्राविधिक ज्ञानका रुपमा नमानिने तर विपद् व्यवस्थापनका लागि अत्यावश्यक हुने कम खर्च का प्रविधि जस्तै डोरीका गाठो बाँध्ने सीप, रद्दी कागजबाट चप्पल बनाउने उपाय जस्ता सरल तर जीवनरक्षक सीपहरू पनी सिक्ने मौका पाइयो। विपद् परेको बेला, जस्तो भुकम्पका बेला, फुटेका सिसा वा धारिलो वस्तुले खुट्टा क्षतिग्रस्त बनाउन सक्छ, र त्यस्तो बेला कागजबाट अस्थायी चप्पल बनाउने सीप अत्यन्तै उपयोगी हुन सक्ने रहेछ। यस्ता अभ्यास नेपालमा पनी गरिएको पाइन्छ। यसलाई थप ब्यापक प्रयोगमा ल्याउनु पर्ने महसुस भयो।
भ्रमणका अन्तिम दिनहरुमा हामीले अन्य प्रभावकारी अनुभव बटुलेका थियौँ। जस्तो, शिक्षकहरूका लागि बनाइएको ‘Teacher Capability Building Simulation Room. स्थानीय विद्यालयका शिक्षकहरूका लागी विद्यार्थीहरूलाई कसरी सुरक्षित रूपमा कक्षा बाहिर निकाल्ने, कसरी ‘Drop–Cover–Hold’ लागू गराउने, तथा आपतकालीन अवस्थाको मानसिक तनाव कसरी व्यवस्थापन गर्ने भन्ने अत्यन्तै व्यावहारिक तालिम दिइन्थ्यो। कागावाका एक प्राध्यापकले २–३ वटा ठूलो स्क्रिन को सहायताले भूकम्प सिमुलेशन कक्ष तयार पारेको देख्दा लाग्यो, नेपालमा पनि अलि चाहना र पहल भए यसै मोडेललाई सजिलै आत्मसात् गर्न सकिन्छ। समय मिल्दा हामीले Takamatsu Castle र जापानकै सुन्दर उद्यानमध्ये एक मानिने Ritsurin Garden समेत अवलोकन गर्ने अवसर पायौँ। प्रकृति, इतिहास र मानव-निर्मित संरचनाबीचको गजबको सामञ्जस्यले जापानीहरूको संरक्षण, व्यवस्थापन र सौन्दर्यप्रतिको संवेदनशीलतालाई थप उजागर गर्यो।
समग्रमा हेर्दा, यो भ्रमणले सिकाएको प्रमुख पाठ भनेको, विपद् व्यवस्थापन कागजी अभ्यास वा सरकारी दस्तावेजमा मात्र सीमित हुँदैन; यो जीवनशैली हो, संस्कृति हो, र समुदायको सामूहिक चेतना हो। नेपाल जस्तो भूगोलमा, जहाँ भूकम्प, बाढी, पहिरो र आगलागी वार्षिक रूपमा दोहोरिने जोखिम हुन्, जापानले अपनाएका यस्ता व्यवहारिक अभ्यासहरू अत्यन्तै उपयोगी हुन सक्छन्। बालबालिकादेखि शिक्षकसम्म सिमुलेशन आधारित सिकाइ, शहरमा Disaster Map अनिवार्य गर्ने, सार्वजनिक भवनहरूमा Evacuation Route स्पष्ट राख्ने, र समुदायमा ‘विपदसँग बाँच्ने’ संस्कृतिको विकास गर्ने, यी सबै आजैदेखि थाल्न सकिने सिकाइहरू हुन्।
अन्ततः, जापानले हामीलाई दिएको सबैभन्दा ठूलो शिक्षा प्रविधि मात्रै होइन, अनुशासन, सूक्ष्मता, विनम्रता र प्रकृतिसँग सामञ्जस्यपूर्ण रूपमा बाँच्न सक्ने जीवन-दर्शन हो। नेपालले पनि यिनै मूल्यलाई आत्मसात् गर्न सकेमा हामी विपद्-सुरक्षित समाजतर्फ निकै छिट्टै महत्वपूर्ण कदम चाल्न सक्ने आशा गर्न सकिन्छ।





